मध्यपुर्वमा कम्प्युटरको जागीर

कम्प्युटरमा काम गर्न भनेर मध्यपूर्वको खाडी शहर दुबई हिडेका राजेश मैनाली त्यतिखेर छाँगाबाट खसेजस्तो भए, जब उनलाई त्यहाँ पुगेपछि कम्प्युटर ल्याब सफा गर्ने काममा लगाइयो । धनकुटाबाट इटहरी झरेका राजेशको इटहरीमा आफ्नै साइबर क्याफे थियो । उनी आफ्नो साइबरमा थेसिस र सर्वसाधारणको दैनिक जीवनमा अत्यावश्यक पर्ने कम्प्युटर टाइपिङसम्बन्धी काम पनि भ्याउथे । उनी साथीभाइहरु माझ कम्प्युटर जान्ने मान्छेका रुपमा परिचित थिए । आम्दानी पनि राम्रै थियो । नयाँ कम्प्युटर किन्न परोस् वा पुरानो कम्प्युटरमा केही समस्या परोस्, उनी सबै भ्याइदिन्थे तर उनमा कम्प्युटरसम्बन्धी कुनै औपचारिक शिक्षा र सर्टिफिकेशन कोर्स गरेको प्रमाणपत्र भने थिएन । अझ भनौं, उनमा कुनै एक विषयमा औपचारिक वियषगत दक्षता थिएन ।

राजेश त प्रतिनिधि पात्रमात्र हुन् । विदेशमा नेपालीहरुको लागि आईटी बजार त्यति फराकिलो छैन । अझ कम्प्युटरसम्बन्धी औपचारिक विश्वविद्यालयीय शिक्षा नलिएका व्यक्तिहरुले सोझै आईटीमा काम पाउनु त धेरै नै गाह्रो छ । कसैले नेपालबाट अन्य कुनै काममा विदेश पुगेर त्यहाँ आफ्नो दक्षता देखाएर कम्युटरसम्बन्धी काम पायो भने अर्कै कुरा, नत्र नेपालको अनौपचारिक कम्प्युटर शिक्षाले विदेशमा आईटीको क्षेत्रमा काम पाउन धेरै नै गाह्रो छ । पाए पनि त्यहाँको प्रतिस्पर्धात्मक बजारअनुरुपको तलब पाइदैन । नेपालमा कम्पयुटर र यससम्बन्धी सामान्य ज्ञानले मात्र पनि पुग्ने सतही बजार भएको हुनाले पनि हुन सक्छ, धेरैलाई विदेशको आईटी मार्केटसम्बन्धी भ्रम देखिन्छ । त्यसैले हुन सक्छ, नेपालका म्यानपावर कम्पनीहरुले धेरैलाई कोठाभित्र बसेर गर्ने कम्प्युटरसम्बन्धी काम भनेर फ्याक्ट्रीमा कम्प्युटरको कार्टुन लोड–अनलोड गर्नेसम्मको काम दिलाएर झुक्याइदिन्छन् ।


डोरी को फोटोयसो भन्दैमा विदेशमा विशेष गरी मध्यपूर्वका दुबईजस्ता शहरमा नेपाली युवाले आईटीमा राम्रो काम पाउदैनन् भन्ने हैन । अन्य क्षेत्रमा काम गर्न भनेर पुगेका नेपालीको तुलनामा ज्यादै न्यून संख्यामा आईटीमा काम गर्ने नेपालीहरु भए पनि तिनीहरुले राम्रै तलब–सुबिधासहितको इज्जतको जागिर पनि पाएका छन् । नेपालबाट कम्प्युटर एप्लीकेशनमा स्नातक गरी दुबई पुगेका पोखराका क्रिशोल पौडेल+Krishol Poudel  ) यसैका उदाहरण हुन् । उनका धेरै सहपाठी अमेरिका, युरोप पुगिसकेका भए पनि उनलाई त्यो मोह छैन । कारण, त्यहाँ उनले प्राप्त गरेको काम र अवसर हो । दुबईस्थित अन्तर्राष्ट्रिय चेनअन्तर्गतको कम्प्लेक्स होटलमा आईटी विभाग हेर्ने उनी अन्य देशबाट दुबईमा काम गर्न पुगेकाहरु सँग प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वास राख्छन् ।

क्रिशोलको भनाइमा दुबईमा एकदमै न्यून सङ्ख्यामा मात्र नेपालीहरुले आईटीमा काम पाएका छन् र जतिले पाएका छन्, तीमध्ये धेरैले आफ्नो विषयगत दक्षताको कारणले सानोबाट काम शुरु गर्दै जिम्मेवारीको कमान सम्हाल्न पाएका हुन् । विदेशतिर माइक्रोसफ्ट अफिस प्याकेजका एप्लीकेशन चलाउनेभन्दा पनि ठूला–ठूला बिजनेस हाउसहरुले चलाउने इन्टरप्राइज सफ्टवेयरहरुको सपोर्टमा काम गर्ने गरी धेरै काम भेटिन्छन् । आक्कलझुक्कल कोही–कोहीले डाटा इन्ट्रीजस्ता सामान्य कम्प्युटर ज्ञानले पुग्ने काम भेटे पनि त्यस किसिमका काम यहाँको मुख्य बजार हैन । यहाँको आईटी बजारमा बिक्न कम्प्युटरमा इन्जिनियरिङ आदि गरेको छ भने सजिलै काम पाउन सकिन्छ । अन्य विषयमा पढेकाहरुमा पनि कम्प्युटरको कुनै सीसीएनए, एमसीएसी, आरएचसीई गरेका सर्टिफिकेशन कोर्ष गरेमा आईटीमा अवसर छ । यता नेटवर्क एडमिनिष्ट्रेटर, डाटाबेस एडमिनिष्ट्रेटर, विन्डोज सर्भर एडमिनिष्ट्रेटर, एप्लीकेशन एडमिनिष्ट्रेटर धेरै माग छ । सबभन्दा मुख्य कुरा आईटीको सपोर्टमा होस् वा डिजाइनिङ वा सफ्टवेयर डेभलपमेन्टको टिममा रहेर काम गर्नमा होस्, सेवाग्राहीको आवश्यकता पहिचान र परिपूर्ति गर्नको लागि दोहोरो सम्वाद आवश्यक पर्दछ । त्यसैले अंग्रेजी भाषाको ज्ञान हुनु पनि आवश्यक पर्दछ ।

मध्यपूर्वमा नेपालीहरुले पाउने कामहरुमध्ये आईटी क्षेत्रमा पाइने काम तुलनात्मकरुपमा धेरै नै तलब पाइन्छ । क्रिशोलका अनुसार त्यहाँ आईटी क्षेत्रमा काम गर्नेहरुको मासिक आम्दानी औसत ८०–९० हजार नेपाली रुपैयाँबाट शुरु हुन्छ तर यो मात्राको तलब शुरुमै नपाइन सक्छ । क्रिशोल भन्छन्, ‘यहाँको जागिरमा आफूसँग तोकिएबमोजिमको योग्यता हुदाहुदै पनि साधारणतया अनुभवसहितको योग्यताले प्राथमिकता पाँउछ । नेपालबाट कम्युटरसम्बन्धी विश्वविद्यालयीय अध्ययन गरेर गएकाहरुसँग पनि दुई–तीन वर्षको त्यहाँ गर्नुपर्ने प्रकृतिको कामको अनुभव छ भने राम्रो तलब र जिम्मेवारी पाइन सक्छ ।

यो लेख मिती २०६९ भाद्र ३१ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ । पत्रिकामा छापिएको आकारमा हेर्न यहाँ क्लीक गर्नुहोला
Labels: ,