मोबाईलमा एन्ड्रोईड ओएस #mobile #android #os
Sunday, September 25, 2011
निकै छोटो समयमा गुगल निर्मित मोबाइल अपरेटिङ सिष्टम (ओएस) एन्ड्रोइड ले स्मार्ट फोनको बजारमा कब्जा जमाएको छ । एक अध्ययनअनुसार प्रयोगकर्ताको संख्याको आधारमा यसले सिम्बायोन तथा विन्डोज मोबाइल अपरेटिङ सिष्टम लाई पछि पारेको छ । मोबाइल उत्पादकले निःशुल्करुपमा यो सफ्टवेयर प्रयोग गर्न पाउने र ओपन सोर्स सफ्टवेयर भएको हुनाले प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एप्लीकेशनलाई परिमार्जन गर्न सक्ने हुनाले पनि यो लोकप्रिय भएको हो । हाल बजारमा लगभग दश हजारदेखि साठी हजारसम्मको एन्ड्रोइड मोबाइल फोन पाइन्छ ।मोबाइल, सफ्टवेयर, ह्याण्डसेट आदिको उत्पादन तथा प्रवद्र्धन गर्ने ४७ वटा कम्पनीको पहलमा वायरलेस डिभाइसको लागि सर्वसुलभ माध्यमको पहिचान गर्ने क्रममा २००७ मा एन्ड्रोइड ओएसको विकास भएको हो । यसै वर्ष त्यसको एसडीके (सफ्टवेयर डेभलपमेन्ट किट) सार्वजनिक थियो । सन् २००८ को अन्त्यतिर एचटीसी कम्पनीले एन्ड्रोइड ओएस भएको मोबाइलको उत्पादन सुरु गर्नुभन्दा अगाडि यस एसओएसको विकास र स्थिरताको को लागि विभिन्न कामहरु भएका थिए । त्यस्तै, सन् २००८ को प्रारम्भमा एन्ड्रोइड ओएसमा आधारित भएर निर्माण भएको मोबाइल एप्लीकेशनको विश्वव्यापी प्रतियोगिता गराइएको थियो । विश्लेषकहरुका अनुसार एन्ड्रोइड ओएसको विकासको लागि निर्माण गरिएका पूर्वाधार र विश्वव्यापीरुपमा यसमा भइरहेको अध्ययन–अनुसन्धानको कारणले गर्दा नै यसले छोटो समयमा उपभोक्ताहरुको मन जित्न सफल भएको हो ।
एन्ड्रोइड फोनहरुको एप्लीकेशन निर्माणमा प्रयोग गरिएको डेभलपमेन्ट किटको एकरुपताको कारणले कुनै एउटा ब्राण्डको लागि निर्माण गरिएका एप्लीकेशन अर्को कम्पनीको अर्को ब्राण्डको मोबाइलमा पनि प्रयोग गर्न सकिन्छ । उदाहरणको लागि यदि तपाईंसँग एचटीसी कम्पनीको एन्ड्रोइड मोबाईल फोन छ भने अर्को कम्पनीको मोबाइलमा भएको एप्लीकेशन तपाईंको मोबाइलमा पनि राख्न सक्नुहुन्छ तर यहाँ सफ्टवेयर सञ्चालन गर्नको लागि आवश्यक हार्डवेयरको कुरा पनि महत्वपूर्ण हुन्छ । यो ओएसको लागि लिनक्स करनेलमा आधारित भएर जाभा, सी, सी प्लस प्लस आदि प्रोग्रामिङ ल्याङ्ग्वेजमा एप्लीकेशन निर्माण गर्ने गरिन्छ । ओपन सोर्स भएको कारणले आफूलाई आइपरेका समस्याहरु यसको प्रवद्र्धनका लागि लागिपरेका वेब साइटहरुमा पठाउनुभयो भने विश्वभरिबाट सामाधानका उपायहरु आउँछन् ।
आई फोनको आईओएस तथा नोकिया आदिले पनि प्रयोग गर्ने विन्डोज मोबाइल अपरेटिङ सिस्टम सशुल्क हुनुको साथै क्लोज्ड सोर्स हुनाले मोबाइल उत्पादकहरुको लागि आफ्ना उत्पादनमा ओएसको लागि अतिरिक्त मूल्य समायोजन गर्नुपर्ने हुन्छ । यता प्रयोगकर्ताहरुले आफ्नो आवश्यकता पूर्णतः प्रतिविम्बित हुने एप्लीकेशन निःशुल्क नपाउने हुनाले पनि केही वर्ष अगाडिसम्म मोबाइल ओएसमा एकछत्र राज गरिरहेका ओएसलाई एन्ड्रोइडले विस्थापन गरेको हो । एन्ड्रोइड ओएसको प्लेटफर्ममा चल्ने एप्लीकेशनहरुको सर्वसुलभताको कारणले प्रयोगकर्ताहरुलाई आफ्नो मोबाइल आफ्नो रुचि र आवश्यकताअनुसार पर्सनलाइज गर्न सहज भएको छ ।
हाल बजारमा दश हजार रुपैयाँको हाराहारीमा माइक्रोम्याक्स कम्पनीको एन्ड्रोइड फोन पाइन्छ भने ल्यापटप तथा डेस्कटप कम्प्युटरमा निर्माणको क्षेत्रमा अग्रणी रहेको डेलको एन्ड्रोइड फोनलाई पचास हजारभन्दा बढी पर्दछ । मध्यम वर्गका सहरी उपभोक्तालाई लक्षीत गरी सामसुङले पन्ध्र हजारको हाराहारीमा इकोनोमिक एन्ड्रोइड मोबाइल फोन बजारमा ल्याएको छ । एचटीसी ब्रान्डको सबभन्दा सस्तो एन्ड्रोइड फोनलाई त्यस्तै अठार उन्नाईस हजार पर्छ । एलजीले निकालेको एलजी अप्टीमस पनि धेरैले रुचाएको मोबाइल फोन हो । नेपालमा पाउन मुस्किल भए पनि गुगलको एन्ड्रोइड फोन नेक्ससले विदेशमा धेरै प्रयोगकर्ताको मन जितेको छ । पूर्वतिरको स्थानीय बजारमा सर्वसुलभ रुपले एचटीसीलगायत्का राम्रा कहलिएका एन्ड्रोइड फोन पाउन मुस्किल भए पनि एन्ड्रोइड पारखीमाझ यसको लोकप्रियता उच्च छ ।
लामो समयदेखि एन्ड्रोइड फोन प्रयोग गरिरहेका प्रयोगकर्ताका अनुसार सिम्बायोन तथा विन्डोज अपरेटिङ सिस्टम भएका मोबाइलहरु प्रयोगकर्ताको साधारण आवश्यकतामात्र परिपूर्ति गर्न सक्षम छन् । आई फोन राम्रो छ तर बिबिध कारणले अनलक गर्नेदेखि एप्लीकेशन डाउनलोड गर्नेसम्मको प्रक्रिया झन्झटिलो हुन्छ । उत्पादन वारेन्टी भएको आई फोन पाइँदैन । विन्डोज अपरेटिङ सिस्टम भएको कम्प्युटरमा आई फोनबाट डाटा ट्रान्सफर गर्नु पर्यो भने पनि सफ्टवेयर इन्सटल गर्नुपर्छ । डाटा ट्रान्सफरको सजिलो माध्यम ब्लुटुथले एप्पलका उत्पादनबीच मात्र डाटा ट्रान्सफर हुन्छ तर एन्ड्रोइड फोनमा यस किसिमको कुनै समस्या छैन ।
यो लेखे मिती २०६८ असोज ८ गतेको स्थानिय बल्लाष्ट दैनिकमा प्रकाशित भएको हो । पत्रिकामा छापीएको आकारमा हेर्न यहाँ क्लीक गर्नु होला